काठमाडौं । आन्तरिक राजश्व कार्यालय पुतलीसडकले करदाता शिक्षासहितको व्यवसायिक स्थायी लेखा नम्बर (पान) प्रमाणपत्र सुरु गरेको छ । प्रमाणपत्रको पछाडिपट्टि रहेको खाली स्थानलाई सदुपयोग गर्दै यस्तो सामाग्री समावेश गरिएको हो ।
कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्र यादवले पान प्रमाणपत्र पाएपछि के गर्ने भन्ने सम्बन्धमा करदातामा देखिएको अन्यौलता अन्त्य गर्न यस्तो कदम चालिएको जानकारी दिए । खाली ठाउँको सदुपयोग गरेर करदाता शिक्षासम्बन्धी जानकारी दिँदा यसले करदाताको कर सहभागिता (कम्प्लायन्स) बढ्ने उनको विश्वास छ ।
‘हामीले आन्तरिक राजश्व कार्यालयहरुमै पहिलोपटक यस्तो शिक्षा सामाग्री उल्लेख गरेर प्रमाणपत्र दिन थालेका छौं । प्रमाणपत्र लिएपछि के गर्ने भन्ने विषयमा जानकारी नहुँदा करदाताहरु थप शुल्क र जरिवानामा परिरहनुभएको अवस्था थियो,’ प्रमुख कर अधिकृत यादवले भने, ‘यसरी जानकारी दिँदा यो अन्यौलता अन्त्य हुन सक्छ । सरकारको राजश्व समेत नियमित ह्ुन्छ ।’
उक्त प्रमाणपत्रमा आयकरमा मात्रै दर्ता भएका, मूल्य अभिवृद्धि करमा समेत दर्ता भएका तथा अन्तःशुल्कसम्बन्धी कारोबारमा समेत दर्ता भएका करदाताले पूरा गर्नुपर्ने दायित्वका सम्बन्धमा उल्लेख गरिएको छ ।
अहिले अन्तशुल्क तथा मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यवसायिक संस्थाले आफूले कारोबार गरेको रकमको विवरण र त्यसबमोजिमको कर प्रत्येक महिना सकिएको २५ दिनभित्र सम्बन्धित राजश्व कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, आयकर बापत प्रत्येक त्रैमासमा सो अवधिको अनुमानित आय विवरणसहितको कर दाखिला गर्नुपर्ने व्यवस्था छ ।



