काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ ।
नेपाली समय अनुसार आज राति ९ः४५ बजे खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा सुरु हुनेछ ।
कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ ।
नेपालले जोर्डनसँग तीन पटक खेल्दा अहिलेसम्म जित निकालन सकेको छैन ।
छनोटकै अवे खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको थियो ।
नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन बलियो टोली भएपनि जितकै लागि खेल्ने बताएका छन् । उनले आइतबारको प्रिक्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने भन्दै जितकै लक्ष्य राखेर मैदान उत्रिने बताएका थिए ।
जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान माथि छ जसमा जोर्डन ९५ औं र नेपाल १७१ औं स्थानमा छन् ।
जोर्डन ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ भने ६ खेलबाट ६ अंकसहित नेपाल चौथो स्थानमा छ ।



