काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज राति चाइनिज ताइपेईसँग खेल्दै छ ।
नेपाली समय अनुसार खेल राति ९ः४५ बजे कुवेत सिटीमा सुरु हुनेछ ।
नेपालले हालसम्म चाइनिज ताइपेईविरुद्ध खेलेका खेलहरुमा सुखद नतिजा निकालेको छ ।
नेपाल र ताइपेई अहिलेसम्म दुईपटक भिडेका छन् । नेपालले ताइपेईसँगको पहिलो खेल बराबरीमा र दोस्रो खेलमा भने जित निकालेको थियो ।
फिफा वरीयतामा ताइपेई १४१औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा रहेको छ ।
विश्वकप छनोटको अवसर गुमाइसकेको नेपालले बाँकी खेलमा सहज जित निकाल्न सकेमा एसियन कपमा छनोट हुने सम्भावना भने बाँकी छ ।
समूह ‘बी’मा पाँच खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ ।
पाँच खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपाल पाँच खेलमा एक जित र चार हार ब्यहोर्दै चौथो स्थानमा रहँदा चाइनिज ताइपेई ५ खेलबाट अंकविहीन हु्ँदै तालिकाको पुछारमा छ ।



