काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ३४ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २६ रुपैयाँ ३४ पैसा खर्च गर्नुपर्ने भएको छ ।
यसअघि असार ९ गते पनि डलर उच्च मूल्यमा पुगेको थियो । सो दिन डलरको मूल्य १ डलर बराबर १ सय २५ रुपैयाँ ७३ पैसा पुगेर नयाँ मूल्य रेकर्ड राखेको थियो । सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च् मूल्य कायम भएको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँ बीच स्थिर विनिमय दर रहेको छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि घटबढ हुने गर्दछ ।
नेपाल आयल निगमले भारतीय आयम कर्पोरेसनसँग डलरमै भुक्तानी गरेर सामान किन्ने हुँदा डलर महंंगो हुँदा पेट्रोलियम पदार्थको मूल्य झनै बढ्ने समेत देखिन्छ ।



