काठमाडौं । जीवन बीमा कम्पनीहरुले जेठसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रूपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् ।बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार हाल संचालनमा रहेका २० कम्पनीले जेठ मसान्तसम्ममा सो रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
गत महिना जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब बीमाशुल्क संकलन गरेका थिए । अहिले सो रकमलाई ९ अर्ब रुपैयाँले बढाएर १ खर्ब १९ अर्ब रुपैयाँमा पुगेको समितिले जनाएको छ ।
बीमा कम्पनीले जेठम महिनामा मात्रै ९ लाख २१ हजार वटा बीमालेख जारी गरी ९० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । तथ्याङकअनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
नेपाल लाइफले जेठ मसान्तसम्ममा कुल ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमध्ये सबैभन्दा धेरै हो ।
यस्तै, सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



