काठमाडौं । वैशाखसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन बढेको छ । बुधबार बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार बीमा कम्पनीले आर्थिक वर्षको वैशाख महिनासम्ममा ७ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमा शुल्क संकलन बढाएका छन् ।
समितिको तथ्यांक अनुसार सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ४० करोड बराबरको कुल बीमाुशल्क संकलन गरेका छन् । गत चैत महिनासम्मा यस्तो रकम १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
बीमा कम्पनीले वैशाख महिनामा मात्रै ९ लाख ९७ हजार ८ सय ५४ वटा बीमालेख जारी गरी ७ अर्ब ८६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । तथ्याङकअनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
नेपाल लाइफले वैशाखसम्ममा कुल २८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.६९ प्रतिशत हो ।
यस्तै, सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



