काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ।
आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै समयमा कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत कम हो।
कम्पनीले चैत मसान्त सम्ममा २८ अर्व २१ करोड ९६ लाख रुपैयाँ कुल सञ्चालन आय गरेको छ । गत वर्षको यसै समयमा सञ्चालन आय २७ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा २.८ प्रतिशत बढि हो ।
कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ।प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा घटेर ४० रुपैयाँ २६ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ सय ११ रुपैयाँ ७७ पैसा रहेको छ ।
टेलिकमको खुद नाफा घट्नुको प्रमुख कारणहरु यस्ता छन् :
कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा आएका कारण गर्दा पनि नाफा घट्न पुगेको हो । साथै, २०७८ माघ महिनामा कोभिड–१९ को महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी भएका कारण र सेवा व्यापकरुपमा विस्तार गरिएकोले मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको हो ।
त्यस्तै, कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु शुरु गरिएको हुँदा जीएसएमः सेवा तर्फ डाटाको खपत बढे तापनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेका कारण पनि मुलाफा घटेको हो । त्यसैगरि कोभिड–१९ को महामारी पश्चात चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको जस्ता कारणले गर्दा खुद नाफा घट्न पुगेको कम्पनीले जनाएको छ



