काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर फेरि बढाउने संकेत गरेका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट २ प्रतिशत विन्दुले ब्याजदर बढाएको नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासको समीक्षामार्फत् फेरि ब्याजदर बढाउने संकेत गरेको हो ।
अहिले ब्याजदर करिडोरको सीमा अनुसार राष्ट्र बैंकले अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसलाई बढाउनुपर्ने अवस्था रहेको गभर्नर अधिकारीले बताए । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्र बैकले ब्याजदर बढाउँदा समेत शोधनान्तर घाटा नथामिएको भन्दै अर्थतन्त्र जोगाउन ब्याजदर बढाउनुपर्ने बाध्यता रहेको बताए ।
ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहने स्थायी तरलता सुविधाको ब्याजदर बढेमा यसको प्रत्यक्ष असर बजारको ब्याजदरमा पर्छ । यही कारण निक्षेपको ब्याजदर अहिलेभन्दा माथि पुग्छ ।
अहिले बैंकहरुले मुद्दती खातामा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । रेमिट्यान्स खाताको पैसामा भने १२.०३ प्रतिशत ब्याजदर तोकिएको छ । राष्ट्र बैंकले १ प्रतिशत ब्याजदर बढाउँदा बजार ब्याजदरमा पनि त्यसभन्दा बढी बढ्ने दबाब पर्छ ।
राष्ट्र बैंक मौद्रिक नीतिकाे तेस्रो त्रैमासिक समीक्षाको तयारीमा छ । अघिल्लो पटक समेत अर्धवार्षिक समीक्षा गर्नुअघि राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाउन निर्देशन दिएको थियो । सोही अवस्था दोहोरिएमा अब जेठदेखि बैंकहरुको ब्याजदर फेरि बढ्नेछ ।



