काठमाडौं। बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले एक वर्षभित्र तोकिएको चुक्ता पुँजी पुर्याउनै पर्ने बताएका छन् । बीमा समितिद्वारा आयोजित पुँजी वृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा व्यवसायको वृद्धि र अर्थतन्त्रमा योगदानका लागि समेत पुँजी वृद्धि अनिवार्य रहेको बताए ।
उनले बीमा कम्पनीहरुलाई मर्जरमा गएर समेत पुँजी पुर्याउने बाटो खुला राखेको भन्दै मर्जरको विषयमा आफूहरुले कुनै दवाव नदिएको समेत उल्लेख गरे । तर, पछिल्लो समय बीमा कम्पनीहरु आफैंले मर्जरमा चासो देखाएको उनको भनाइ छ ।
उनले २०८१ देखि जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका पूर्णरुपमा लागू हुने समेत बताए । उनले बीमा कम्पनीहरु पूर्ण क्षमतामा चल्ने, समयमा दाबी भुक्तानी हुने र उल्लेख्य नाफा समेत कमाउनसक्ने अवस्थामा पुग्नुपर्ने समेत उल्लेख गरे ।
बीमा समितिले केही समयअघि मात्रै २०७९ सालभित्र जीवनबीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २.५ अर्ब पुँजी पुर्याउनुपर्ने गरी पुँजी वृद्धि योजना ल्याएको छ । अहिले अधिकांश बीमा कम्पनीले बीमा समितिलाई पुँजी वृद्धिको योजना समेत बुझाइसकेका छन् । अहिले बीमा समितिबाट १९ वटा जीवन बीमा र २० वटा निर्जीवन बीमा कम्पनीले सञ्चालन अनुमति पाएका छन् ।



