काठमाडौं । जीवन बीमाको पहुँच ३७.३४ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार चैत मसान्तसम्म कुल जनसंख्याको ३७.३४ प्रतिशतले जीवन बीमा गरेको देखाएको हो । यो सङ्ख्या म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या २६.७८ प्रतिशत रहेको थियो ।
समितिको तथ्यांक अनुसार समीक्षा अवधिसम्म १ करोड १२ लाख ४४ हजार ७ सय जना बीमाको दायरामा आएका छन् । नेपालको जनसंख्यालाई ३ करोड २ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो । म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ४५ लाख २२ हजार २ सय ९५ जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेख सहित भने कुल बीमितको संख्या १ करोड ३ लाख ९१ हजार ९ सय २७ जनामा बीमाको पहुँच पुगेको छ । यो ३४.५१ प्रतिशत हो ।
म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १५.०२ प्रतिशतले मात्रै जीबनबीमा पोलिसी किनेका छन् । अहिले नेपालमा सावधिक तथा आजीवन र अग्रिम भुक्तानी सावधिक बीमालेख प्रचलनमा रहेका छन् । सञ्चालनमा रहेका १९ जीवनबीमा कम्पनीले यीनै बीमा पोलिसीहरु स्वीकर्त गराइ बिक्री गर्दै आएका छन् ।



