काठमाडौं । ‘केसीएल अस्ट्युट क्यापिटल’ को कारोबार ‘गरिमा क्यापिटल’को नामबाट सुरु भएको छ । गरिमा विकास बैंकले बहुमत शेयर स्वामित्व ग्रहण गरेसँगै सो क्यापिटलको नाम परिवर्तन गरिएको हो ।
गरिमा विकास बैंकले सो क्यापिटलको ५१.२० प्रतिशत शेयर खरिद गरेको छ । तात्कालिन केसीएल अस्ट्युट क्यापिटल र गरिमा विकास बैंक लिमिटेडबीच २०७८ असार ४ गते भएको शेयर खरिदबिक्रीसम्बन्धी सम्झौता अनुसार २०७८ चैत ७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा बैंकको नाममा शेयर स्वामित्व कायम भएको थियो । त्यस्तै, क्यापिटलको नाम गरिमा क्यापिटल लिमिटेड समेत कायम गरिएको थियो ।
अब गरिमा क्यापिटलले यसअघिको ‘केसीएल अस्ट्युट क्यापिटल’को सबै चल अचल सम्पत्ति तथा दायित्व तथा करभारबो बहन गर्नेछ ।
नाम परिवर्तनसँगै गरिमा क्यापिटलले नयाँ सञ्चालक समिति समेत गरेको छ । सञ्चालक समितिमा गरिमा क्यापिटलको तर्फबाट ३ जना सञ्चालकले प्रतिनिधित्व गरेका छन् । सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डेय चयन भएका छन् भने अन्य सदस्यहरुमा रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ रहेका छन् ।
गरिमा क्यापिटल मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने कम्पनी हो । ६ वर्षअघि स्थापित सो कम्पनीले लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको थियो ।
निकट भविष्यमा सो क्यापिटलले बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेसन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्ड लगायतका सेवा दिने तयारी गरेको छ ।
क्यापिटलका सेवासम्बन्धी सहजीकरण गरिमा विकास बैंकका सम्पूर्ण शाखाहरुबाट दिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ ।



