काठमाडौं । अन्नपूर्ण केवलकार पोखराले मंगलबारबाट सूर्यदर्शन सेवा संचालनमा ल्याए पछि केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढ्न थालेको छ । विगतका दिनहरुमा भन्दा मंगलबार केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या करिब पचास प्रतिशतले वृद्दि भएको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए ।
पर्यटकहरुको चाहना बमोजिम बिहान ५ बजेदेखि नै सूर्यदर्शन ( सनराइज़) सेवालाई मध्यनजर गरी केवलकार संचालनमा ल्याए पछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्नेहरुको संख्यामा वृद्दि भएको महाप्रबन्धक पौडेलले बताए ।
केवलकार चढेर सूर्योदयको अवलोकन गर्न सराङकोट पुगेका हरुले पोखराबाट सनराइज़ हेर्न सडकमार्ग हुंदै सराडंकोट पुग्न समय र पैसा पनि धेरै खर्च हुने गरेकोमा समय र पैसाको बचत हुने उनिहरुको धारणा छ ।
नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुलीले बिहान उठेर गाड़ी मोटरसाइकल लिएर सराडंकोट पुग्दा आधा घण्टा भन्दा बढ़ी समय लाग्ने मात्र नभएर उकालो र साँघुरो सडक भएकोले कठिनाई भोग्नुपरेका हरुलाई केवलकारको सुर्य दर्शन सेवाले सहज बनाईदिएको प्रतिक्रिया दिए ।
पोखराको लेकसाईड नजिक सेदीबगरबाट जम्मा १० मिनेटको समयमा नै सराङकोट पुगेर सूर्योदयका साथ मनमोहक हिमश्रृंखला हेर्न पाएको भन्दै आन्तरीक तथा बाह्य पर्यटकले खुशी व्यक्त गरे ।
गत फागुन ६ गते सफ्ट ओपनिङ गरेर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिईरहेको केवलकारले मंगलवार अर्थात् चैत १ गतेबाट सुर्य दर्शन सेवा शुरू गरेको हो । नयाँ समय तालिका अनुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म केवलकारले यात्रुहरुलाई सेवा दिन थालेको छ ।
सुर्यदर्शन सेवा संचालनको पहिलो दिन नै सूर्योदय हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या वृद्दि हुनुका साथै मौसम पनि सफ़ा रहेकोले सराङकोट पुग्नेहरुमा प्रशन्नता छाएको थियो । यति बेला केवलकार चढ्नेहरु आन्तरिक पर्यटकहरु नै धेरै रहेको र विदेशी पर्यटकको आगमन नेपालमा बढेपछि उनिहरुको समेत संख्या बढ्ने अपेक्षा केवलकार व्यवस्थापनको छ ।
महाप्रबन्धक पौडेलका अनुसार विहान १० बजेबाट ५ बजेसम्म सेवा संचालन हुदा पनि ५/६ सय जना जतिले दिनहुं यात्रा गर्ने गरेकोमा समय थप हुंदा र सुर्यदर्शन सेवा थप हुंदा संख्य बढेको छ । केवलकारसंगै अन्य मनोरन्जनात्मक र साहसिक ईभेन्टहरु थप गर्ने तर्फ पहल भएको मात्र नभएर यांत्रुकालागि नया प्याकेज ल्याउने सन्दर्भमा पनि छलफल भैरहेको छ ।
सेदीबगरदेखि सराडंकोटसम्म केवलकारमा पुग्न करिब १० मिनेट मात्र लाग्छ र फेवाताल सहित प्राकृतिक सुन्दरता अवलोकन गर्दै सराडंकोट पुग्न सकिन्छ । केवलकारमा आवत जावत गर्न कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटककालागि ८ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका
लागि ९ डलर भाडादर तयगरेको छ ।
पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी २ अर्ब रुपैयाँ पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।



