काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउन्डेसनले चाँगुनारायण क्षेत्रका नगरवासीलाई आईटी विषय अध्ययनमा छात्रवृत्ति दिने भएको छ । नगरपालिका र फाउन्डेसनबीच भएको समझदारी अनुसार फाउन्डेसनले सञ्चालन गरेको एलबीईएफ क्याम्पसमा एशिया प्यासिफिक विश्वविद्यालयको बीएससी सीएसआईटी (हन्स) विषय अध्ययनका लागि प्रत्येक वर्ष १२ जनालाई छात्रवृत्ति दिने भएको हो । त्यसमध्ये कम्तीमा ३ जनालाई शतप्रतिशत, ४ जनालाई ५० प्रतिशत र ५ जनालाई २५ प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
चाँगुनारायण नगरपालिकाले प्रत्येक वर्ष भर्ना खुलेको समयमा नगर क्षेत्रबाट कम्तीमा ५० जनाको नाम सिफारिस गरेर फाउन्डेसनलाई पठाउनेछ । उनीहरुमध्ये सो बराबरलाई फाउन्डेसनले छात्रवृत्ति दिनेछ ।
यो सम्झौता ५ वर्षसम्म लागु हुने जनाइएको छ । यो अवधिमा फाउन्डेसनबाट ६ औं सेमेष्टर अध्ययन गरेका कम्तीमा ५ जनालाई नगरपालिकाले इन्टर्नसिप दिने समेत सम्झौतामा उल्लेख गरिएको छ ।
नगरपालिकामा दक्ष प्राविधिक जनशक्तिको वृद्धि गर्ने र चाँगुनारायणलाई डिजिटल नगरपालिका निर्माण गर्ने उद्देश्यले सम्झौता गरिएको नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले जानकारी दिए ।



