images
images

४३ वर्षपछि आँबुखैरेनीमा हिमपात भएपछि आन्तरिक पर्यटक ओइरो


  • 471
    SHARES
  • २०७८ माघ २२ गते शनिबार

    ४३ वर्षपछि आँबुखैरेनीमा हिमपात भएपछि आन्तरिक पर्यटक ओइरो

    काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा हिमपात भएपछि आन्तरिक पर्यटक हिउँ खेल्न पुगेका छन् । 

    जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको यस ठाउँमा शुक्रबार हिमपात भएपछि हिउँ खेल्न आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका हुन् । छिम्केश्वरीमा शुक्रबार बिहानैदेखि आन्तरिक पर्यटकको चहलपहल बढेको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए । 

    उनका अनुसार शुक्रबार १ सयभन्दा बढी पर्यटक छिम्केश्वरी पुगेका थिए । आज पनि हिउँ बाँकी रहेकाले बिहानैदेखि आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएको उनले जानकारी दिए । “छिम्केश्वरी मन्दिर र बुढीदेवीमाई मन्दिर आसपास आज पनि हिउँ बाँकी छ, आज बिहानैदेखि पनि आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका छन्”, उनले भने, “चार दशकपछि परेको हिमपातले छिम्केश्वरीको प्रचारप्रसारमा सहयोग पुगेको छ ।” 

    समुन्द्र सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा यस अगाडी  २०३५ सालमा हिमपात भएको थियो । त्यसयता यहाँ हिउँ परेका थिएन । छिम्केश्वरीमा ४३ वर्षपछि पहिलो पटक हिमपात भएको हो । हिमपात हुने छिम्केश्वरी तनहुँकै एकमात्र स्थान हो । 

    गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यही विश्वासका साथ नयाँ वर्ष र फागुपूर्णिमाको दिन छिम्केश्वरीमा भक्तजनको भीड लाग्ने गरेको छ । 

    सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । 

    छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छे लगायतका हिमाल आँखै अगाडी हेर्न सकिन्छ । पृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किलोमिटर कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रा मार्फत् छिम्केश्वरी पुग्न सकिन्छ ।


    images
    images

    Logo