काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिन स्थापित संस्थाको ब्याजदर र संस्थाको नियमनमा कडाइ गरेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० को तेस्रो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
जसअनुसार अब हायर पर्चेज ऋणको कारोबार गर्ने त्यस्ता संस्थाको स्प्रेडदर ४ प्रतिशत तोकिएको छ । यसअघि यस्तो दरमा कुनै बन्देज थिएन ।
त्यस्तै, हायर पर्चेज शुल्कको बढीमा ८० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । अहिले यस्ता संस्थाले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका थिए ।
अब त्यस्ता संस्थाले एउटै व्यक्ति वा समूहलाई खुद सम्पत्तिको ३० प्रतिशत भन्दा बढी ऋण दिन नपाउने समेत व्यवस्था गरेको छ ।
अब यस्ता कम्पनीले त्रैमासिक रुपमा आफ्नो वित्तीय विवरण राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ । यसअघि अर्धवार्षिक रुपमा यस्तो विवरण बुझाउनु पथ्र्यो । त्यसरी विवरण बुझाउँदा ठूला ३० जना ऋणीको विवरण समेत अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि ठूला १० ऋणीको विवरण मात्रै बुझाउनु पथ्र्यो ।
अब यस्ता संस्थाले निष्क्रिय रहेको कर्जाउपर पनि व्यवस्था गर्नु पर्नेछ । १ वर्षभन्दा कम रहेको निष्क्रिय कर्जामा ५० प्रतिशत र त्यसपछि शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने नयाँ संशोधनमा व्यवस्था गरिएको छ । यसअघि पनि यही व्यवस्था थियो ।



