images
images

राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री सुधन गुरुङले जवाफ दिने


  • 218
    SHARES
  • २०८३ श्रावण २१ गते बिहीबार

    राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री सुधन गुरुङले जवाफ दिने

    काठमाडौँ ।  सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ ।

     सङ्घीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्सपङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।

    राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्नेछिन् ।

    पाँच समितिको बैठक बस्दै

    यसैगरी, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार, अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ ।

    बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ ।

    महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको काम कारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल’ गर्ने कार्यसूची छ । बैठक बिहान ११ः०० बजे बस्दैछ ।

    अपराह्न १ः०० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल हुनेछ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

    बिहान १०ः०० बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २ः३० बजे बस्दैछ ।


    images
    images

    Logo