भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा एक वर्षभित्रै २०२ जनाको सफल मिर्गौला प्रत्यारोपण गर्दै हालसम्मकै उच्च उपलब्धि हासिल गरेको छ । केन्द्रका अनुसार १४ वर्षको प्रत्यारोपण सेवाको इतिहासमा यो एकै आर्थिक वर्षमा सम्पन्न भएको सबैभन्दा धेरै मिर्गौला प्रत्यारोपण हो । मिर्गौला प्रत्यारोपणको नेतृत्व चिकित्सक डा. दीपेश श्रेष्ठ को टोलीले गरेको थियो ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले यो उपलब्धिलाई नेपालमा अंग प्रत्यारोपण सेवाको क्षेत्रमा ऐतिहासिक कोशेढुंगा भएको बताउँदै प्रत्यारोपण सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न चिकित्सक, नर्सिङ, प्राविधिक तथा सहयोगी कर्मचारीहरूको योगदानको प्रशंसा गरेकी छ न्।
मिर्गौला प्रत्यारोपण सेवामा नेफ्रोलोजी विभागको नेतृत्व डा. लुसन सिंह, एनेस्थेसिया तथा क्रिटिकल केयरको नेतृत्व डा. आरती राई, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकी ले गरेका थिए । प्रत्यारोपण समन्वयको जिम्मेवारी तारा साँधको टोलीले सम्हालेको थियो भने सनिषा कार्की नेतृत्वको नर्सिङ टोली, प्याथोलोजी ल्याब र अस्पताल फार्मेसीको टोलीले समेत महत्वपूर्ण सहयोग गरेको केन्द्रले जनाएको छ ।
केन्द्रले देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्नुका साथै मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात गरेको छ । साथै अंगदान तथा प्रत्यारोपणसम्बन्धी कानुन परिमार्जनमा पनि केन्द्रले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।
केन्द्रका अनुसार विगत १४ वर्षमा ९९ प्रतिशतभन्दा बढी सफलता दर कायम गर्दै हालसम्म १ हजार ६७० जनाको मिर्गौला तथा ३७ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ । आफ्नै भवन र पर्याप्त पूर्वाधारको अभाव हुँदाहुँदै पनि केन्द्रले नेपालमा हुने कुल प्रत्यारोपणमध्ये करिब दुईतिहाइ सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताइन् ।
केन्द्रले यो उपलब्धिले नेपालमा अंग प्रत्यारोपण सेवाको विकास, विस्तार र गुणस्तर अभिवृद्धिमा थप ऊर्जा मिल्ने तथा आगामी दिनमा अझ सुरक्षित, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।



