images
images

चितवन र पर्सामा एकैसाथ बाघ गणना गरिँदै


  • 633
    SHARES
  • २०७८ मंसिर १७ गते शुक्रबार

    चितवन र पर्सामा एकैसाथ बाघ गणना गरिँदै

    चितवन । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गर्न लागिएको छ । यसका लागि आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा २दिने तालिम सुरु गरिएको हो । यही मङ्सिर १९ गतेदेखि सुरु हुने सो गणनाका लागि करिव १ सय जनालाई आवश्यक प्राविधिक ज्ञान दिइने छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संयोजन गरेको यस तालिममा जेडएसएल, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन विभाग लगायतका प्राविधिक विज्ञले तालिम दिनेछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चितवन र पर्सामा एकैसाथ बाघ गणना गदै छन् ।

    यहाँ ३ सय ६० जोडी क्यामेरा जडान गरिने छ । उनका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्बिर लिइने छ । दुई निकुञ्जको एउटा ब्लकमा १६  क्याम्प बनाइएको छ । आधा मिटरका उचाइमा क्यामेरा राखिने छ । कतिपय ठाउँमा रुखमा र नमिलेमा घोचो गाढेर स्वचालित क्यामेरा जडान गरिने छ ।

    क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । २/२ ग्रिड अर्थात् ४ वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । कम्तीमा २ हप्ता क्यामेरा राख्नुपर्ने उनको भनाइ छ । बाघ वरीपरि आएमा क्यामेराले तस्बिर लिने छ । झण्डै २ महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान गरिएको छ ।

    तस्बिर अध्ययन पछि थप ४महिनाभित्रमा नतिजा आउने प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ । सन् २००८ देखि यहाँ राष्ट्रियस्तरको बाघ गणना सुरु गरिएको हो । दोस्रो पटक सन् २०१३, तेस्रो पटक सन् २०१८ र अहिले चौथो पटक बाघ गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ ।

    देशभरका पाँच निकुञ्जमा बाघ रहेका छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । 

    झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २ सय ३५ वयस्क बाघ फेला परेका थिए । त्यति बेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

    सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या  २ सय ५० पुयाउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १ सय २१ वटा बाघ रहेको तथ्याङ्क थियो । दोब्बर भन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षण विधि विश्वस्त रहेका छन् । नेपालमा हरेका चार/पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।

    देशैभरको बाघ गणनाको औपचारिक शुभारम्भ यहाँबाट गर्न लागिएको छ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीको उपस्थितिमा यही आइतबार गणनाको शुभारम्भ सौराहामा गरिने छ । सो अवसरमा वन सचिव डा पे्रमनारायण कँडेल, निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, वन मन्त्रालयअन्तर्गत विभिन्न विभागका महानिर्देशक, बागमती प्रदेशका वन सचिव, मन्त्रालयका महाशाखा प्रमुख, साझेदार संस्थाका अधिकारीका उपस्थितिमा कार्यक्रम हुन्छ ।


    images
    images

    Logo