काठमाडाैं । नेपाल एयरलाइन्सले अस्ट्रेलिया र इजरायलसम्मको सेवा दिने भएको छ । एयरलाइन्सले बिहीबार सर्कुलर जारी गर्दै अस्ट्रेलियाका विभिन्न शहर र इजरायलको टेल एभिभ शहरमा सेवा दिने जानकारी दिएको हो ।
यसअघि १४ नोभेम्बरमा निगमले सर्कुलर जारी गर्दै लण्डन, पेरिस लगायतका शहरमा सेवा विस्तार गरेको थियो । यसअघि विस्तार नभएको अस्ट्रेलियाको सिड्नी, मेलवर्न, पर्थ, ब्रिसबेन शहर र इजरायलको टेल एभिभमा बिहीबारदेखि नै लागु हुने गरी सेवा विस्तार गरेको एयरलाइन्सले जनाएको छ ।
यी शहरहरुमा एयरलाइन्सले आफ्नो सिधा उडान नभरे पनि मलेसियाको क्वालालम्पुरसम्म नेपाल एयरलाइन्ससँग र त्यसपछि सिड्नी लगायत शहरमा मलेसिया एयरलाइन्सबाट यात्रु पठाउने गरी सम्झौता भएको एयरलाइन्सले जनाएको छ । यद्यपि यात्रुले नेपाल एयरलान्सकै टिकटबाट सिधै सिड्नीसम्म उडान भर्न सक्ने पनि एयरलान्सले स्पष्ट पारेको छ ।
त्यस्तै, इजरायल जाने यात्रुहरुले दुबईसम्म नेपाल एयरलान्सको जहाजमा र टेल एभिभसम्म इजरायल एयरलाइन्सबाट यात्रा गर्न सकिनेछ । त्यहाँ पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रा गर्न सकिने एयरलाइन्सले जनाएको छ ।



