काठमाडौं । नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेको भन्दै बैंकलाई कारबाही गरिएको हो।
राष्ट्र बैंकले यस्तो कार्य फेरि नगर्न सचेत गराएको छ । बैंकले २०८१ असार महिनामा राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नम्बर ९४० मा तोकिएको ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गरेको थियो।
राष्ट्र बैंकले सो निर्देशनको उल्लंघन गरेकाले मितेरीको शाखा विस्तारमा रोक लगाएको छ। साथै, भूकम्प पीडितलाई प्रवाह गरिने बाहेक अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने गरी कारबाही गरेको जनाइएको छ।