काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार बिहीबार रोक्का गरेको छ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम उक्त विकास बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको थियो। साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम सो बैंकको व्यवस्थापन केन्द्रीय बैंकले नियन्त्रणमा लिएको छ।
नेप्सेले बिहीबारदेखि कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने जनाएको छ। यसअघि पनि राष्ट्र बैंकले गोरखा डेभलपमेन्ट बैंक र नेपाल शेयर मार्केट फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा शेयर कारोबार रोक्का गरिएको थियो।
कर्णाली डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था, न्यूनतम पुँजीकोष अनुपातको कमी, उच्च निष्क्रिय कर्जा अनुपात, र तरलता अभावका कारण यसलाई समस्याग्रस्त घोषणा गरिएको हो। यस निर्णयसँगै राष्ट्र बैंकले बैंकको व्यवस्थापन नियन्त्रणमा लिई नयाँ व्यवस्थापन समूह गठन गरिसकेको छ।
मंगलबारको अन्तिम कारोबार मूल्यअनुसार कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता शेयर ८१० रुपैयाँ रहेको छ।