images
images

चार महिनामा साढे २ प्रतिशतले बढ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा


  • 365
    SHARES
  • २०८१ मंसिर २९ गते शनिबार

    चार महिनामा साढे २ प्रतिशतले बढ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा

    काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँले बढेको छ । यो अघिल्लो आर्थिक वर्षको चार महिनाको तुलनामा साढे दुई प्रतिशतले धेरै हो ।

    वार्षिक बिन्दुगत आधारमा गएको कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव २ प्रतिशतले बढेको छ । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव १ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव ९ प्रतिशत रहेको छ ।

    चार महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २ दशमलव ६ प्रतिशतले, विकास बैंकहरुको २ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३ दशमलव ९ प्रतिशतले बढेको छ । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु)को सुरक्षणमा १३ दशमलव ५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६ प्रतिशत रहेको छ ।

    चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ दशमलव १ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १ दशमलव ८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २ दशमलव १ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४ दशमलव ६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २ दशमलव ९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २ दशमलव ५ प्रतिशतले बढेको छ । तर, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव ९ प्रतिशतले घटेको छ । 


    images
    images

    Logo