काठमाडौं । प्रभू बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६२ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असोज मसान्तसम्ममा बैंकले २ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको तुलनामा यस्तो आम्दानी ३.१६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५९ पैसा रहेको छ। २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ९.४३ प्रतिशत बढेको छ।
सो बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि थोरै बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ पैसा बढेर १७ रुपैयाँ ६८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ।



