काठमाडौं । माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको तुलनामा ४.९९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ८.९० प्रतिशत बढेको छ। सो बैंकले १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.३३ गुणा रहेको छ।



