काठमाडौं । कर्मचारीलाई बोनश दिनका लागि वाणिज्य बैंकहरुले ९ अर्ब ६७ करोड रुपैयाँ छुट्याएका छन् । बोनश ऐनले तोकको 'प्रत्येक बैंक तथा वित्तीय संस्थाले कर तिर्नुअघिको कुल नाफाबाट १० प्रतिशत कर्मचारीलाई बोनश दिनुपर्ने' प्रावधान अनुसार २० वाणिज्य बैंकहरुले सो बराबरको रकम छुट्याएका हुन् ।
यसरी छुट्याइएको रमकबाट बैंकहरुले कर्मचारीलाई बोनश वितरण गर्दै आएका छन् । गत वर्षको कमाईबाट २० वणिज्य बैंकहरुले कर्मचारी बोनशका लागि ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ छुट्याएका छन् जुन अघिल्लो वर्षको तुलनामा २.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले बोनश वितरणका लागि ९ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छुट्याएका थिए ।
कुन बैंकले कति दिँदै ?
१ वर्षको अवधिमा १३ बैंकको बोनश रकम घटेको छ भने ७ बैंकको बढेको छ ।
कर्मचारीलाई सबैभन्दा धेरै बोनश बाड्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको नाफाबाट यस बैंकले कर्मचारीलाई १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ बोनश बढ्नेछ । त्यस्तै, ग्लोबल आइएमई बैंकले नाफाबाट ९५ करोड १९ लाख रुपैयाँ बराबरको बोनश दिनेछ ।
सबैभन्दा कम बोनश बाड्नेमा सरकारी स्वामित्वको नेपाल बैंक देखिएको छ । यस बैंकले १५ करोड २१ लाख रुपैयाँ बोनश छुट्याएको छ ।
बैंकहरुले घोषणा गरेको बोनश उनीहरुको साधारण सभाले पारित गरेपछि अधिकांश बैंकहरुले वितरण गर्नेछन् भने केहीले आर्थिक वर्षको अन्त्यपछि दिनेछन् । यस्तै, केहीले चाडबाड लक्षित (दसैं तिहार) गरी बोनश वित्तरण गर्नेछन् ।




