काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार यस्तो मूल्यवृद्धि अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २.३ प्रतिशत विन्दुले घटेको हो । अघिल्लो आर्थिक वर्षमा मूल्यवृद्धि ७.७४ प्रतिशत थियो ।
असार महिनाको मूल्यवृद्धि औसतभन्दा न्युन देखिन्छ । गत असारमा उपभोक्ता मूल्यवृद्धि ३.५७ प्रतिशत मात्रै देखिन्छ । जबकि २०८० असारमा मूल्यवृद्धिदर ७.४४ प्रतिशत थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६, चिनी तथा चिनीजन्य वस्तुहरुको ९।८७, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ र तरकारीको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।
विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड रहेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्घि भई २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्घि भई १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा१ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ।
समीक्षा वर्षमा आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए।



