काठमाडौं । राष्ट्रिय स्तरका ५ वटा विकास बैंकको नाफा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस्तो अवस्था देखिएको हो । ८ वटा विकास बैंकहरुले यो अवधिमा ५ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कमाएको नाफाको तुलनामा ९.३९ प्रतिशतले बढी हो । बैंकहरुले अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ७ करोड रुपैयाँ नाफा गरेका थिए ।
यो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा सांग्रीला, कामना सेवा, महालक्ष्मी, लुम्बिनी र मुक्तिनाथ विकास बैंक रहेका छन् । बाँकी साइन रेसुङ्गा, गरिमा र ज्योति विकास बैंकको नाफा घटेको छ ।
नाफा बढेका ५ बैंक
नाफा बढेका विकास बैंकहरु मध्ये सांग्रीला विकास बैंकको नाफा सर्वाधिक ९२.४७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २७ करोड ४ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक बढेर ५२ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कामना सेवा विकास बैंकको नाफा पनि ३६ करोड १३ लाख रुपैयाँबाट ६६.९२ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा ३७ करोड ७५ लाख रुपैयाँ नाफा गरेको महालक्ष्मी विकास बैंकको पनि नाफा २४.५२ प्रतिशतले बढेर ४७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ४९ करोड ७६ लाख रुपैयाँ नाफा गरेको लुम्बिनी विकास बैंकको पनि नाफा २१.३२ प्रतिशतले बढेर ६० करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
साथै, विकास बैंकहरुमध्ये सर्वाधिक नाफा गरेको मुक्तिनाथ विकास बैंकको नाफा पनि २.४७ प्रतिशतले बढेर १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो ।

नाफा घटेका ३ बैंक
गत आर्थिक वर्षको अन्तिमसम्ममा ज्योति विकास बैंकको नाफा सर्वाधिक १८.३२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिकमा ३० करोड १८ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक २४ करोड ६५ लाख रुपैयाँमा सिमित रहेको हो ।
त्यस्तै, गरिमा विकास बैंकको नाफा पनि १०.१६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब २६ करोड ४६ लाख रुपैयाँ नाफा गरेको सो बैंकले यस पटक १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ मात्र नाफा गर्न सकेको हो ।
साथै, अघिल्लो आर्थिक वर्षमा ७५ करोड ८० लाख रुपैयाँ नाफा गरेको शाइन रेसुङ्गा बैंकको नाफा यसपटक ७.९९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा बैंकको नाफा घटेर ६९ करोड ७४ लाख रुपैयाँमा सिमित भएको छ ।




