काठमाडौं । माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकले ५ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ। ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ।
सो बैंकले १ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ९ पैसा घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ।



