images
images

सुपर न्यादीको निर्माणकार्यको म्याद सकिन एक महिना बाँकी, ६५ प्रतिशतमात्र निर्माण सम्पन्न


  • 332
    SHARES
  • २०८१ जेठ ३१ गते बिहीबार

    सुपर न्यादीको निर्माणकार्यको म्याद सकिन एक महिना बाँकी, ६५ प्रतिशतमात्र निर्माण सम्पन्न

    लमजुङ । यहाँ निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको निर्धारित निर्माणकार्यको म्याद सकिन लागे पनि अझै ३५ प्रतिशत निर्माणकार्य बाँकी रहेको छ । 

    सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको आगामी असारभित्रमा सम्पन्न गर्नुपर्नेमा अझै उक्त प्रतिशत काम बाँकी रहेको हो । यो आयोजनाको दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता गर्दै अघि बढे पनि हालसम्म ६५ प्रतिशतमात्र निर्माण सम्पन्न भएको उक्त आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङले बताए । 

    उनले निर्धारित समयमा काम सम्पन्न गर्नेगरी अघि बढेको यो आयोजना कोरोना महामारीका कारण एक दिनमा हुने काम सात दिन लागेको, कामदार आउन समस्या, सामग्री ढुवानीमा समस्यालगायतले निर्माण कार्यमा ढिलाइ हुँदा अझै ३५ प्रतिशत निर्माणकार्य बाँकी रहेको बताए । 

    आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) अनुसार दुई वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गरिसक्नुपर्ने समय करिब एक महिनामात्र बाँकी छ । निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि आगामी असोजभित्रमा काम सम्पन्न गर्नेगरी अघि बढेको आयोजनाका प्रबन्ध निर्देशक गुरुङको भनाइ छ । 

    प्रसारण लाइनको ट्रान्समिसन लाइन सम्पन्न नभएका कारणले पनि निर्माणमा ढिलाइ भएको र सो निर्माण हुने समयमा आयोजनाको काम सबै सम्पन्न गर्दै बिजुली उत्पादन गर्नेगरी अघि बढिरहेको आयोजनाका प्रबन्ध निर्देशक गुरुङले बताए । उनले आयोजनाको निर्माणकार्य लम्बिँदा नियमित भार परे पनि करिब सात अर्ब लागतको लक्ष्यमै निर्माण सम्पन्न गरिने बताए । 

    हालसम्म यस आयोजनाको विद्यृत्गृह पुग्ने पहुँच सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ भने विद्युत्गृह निर्माणका लागि तीन सय ८७ मिटर सुरुङमार्ग निर्माण गर्ने कार्य, छ हजार आठ सय मिटरको सुरुङमार्गमध्ये पाँच हजार छ सय मिटर टनेलको सुरुङ निर्माणको काम सम्पन्न भएको छ । 

    त्यस्तै भूमिगत पावर हाउसको खन्ने, सुरुङका लागि दुई अडिट टनेलसहित पाँच सय मिटर खन्नेलगायतका काम सम्पन्न भइसकेको छ । साथै ड्यामसाइडसम्मको २२ किलोमिटर सडक निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पेनस्टक, अन्टरग्राउड, पावर हाउसको काम ८० प्रतिशत सम्पन्न भएको छ ।  सिभिलको काम अन्डरग्राउड टनेल खन्ने काम, पावरहाउसको अन्डरग्राउण्ड खन्ने काम, मुख्य सुरुङ खन्ने काम, इलोटोकमेकाइनिकललगायत काम यतिबेला तीव्र रूपमा भइरहेको छ ।  

    जीएण्डजी इन्फ्र प्राइभेट लिमिटेडले निर्माणको काम गरिरहेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गरेका छन् । प्रवद्र्धकको इक्विटी (स्वपुँजी) रु एक अर्ब ७५ करोड रुपैयाँ रहने छ ।  उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवद्र्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ । 

    आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत्गृहबाट ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने एक सय ३२ केभी प्रसारण लाइन खुदी सबस्टेशनमा जोडिने भएको छ । सबस्टेशनसम्मको प्रसारण लाइनमध्ये करिब छ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ । आयोजनाका अनुसार वर्षात्को छ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र छ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाका दरले विद्युत् खरिद बिक्री गरिने छ ।


    images
    images

    Logo