images
images

महाकालीमा शुरू भयो व्यावसायिक जलयात्रा, स्थानीयलाई रोजगारी सृजना


  • 411
    SHARES
  • २०८० चैत्र १० गते शनिबार

    महाकालीमा शुरू भयो व्यावसायिक जलयात्रा, स्थानीयलाई रोजगारी सृजना

    काठमाडौं । महाकाली नदीमा व्यावसायिक रुपमा जलयात्रा (र्‍याफ्टिङ) शुरू गरिएको छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्‍याफ्टिङ सञ्चालन गरिएको हो ।​

    भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयुक्त आयोजनामा र्‍याफ्टिङ गरिएको हो । उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य रहेको छ ।

    परशुरामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्मको लगभग तीन घण्टाको जलयात्रामा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीलगायतको टोली सहभागी थियो ।

    त्यस्तै कञ्चनपुरको खल्ला मसेट्टीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भीमदत्तका नगरप्रमुख पदम बोगटीलगायत नाराका अध्यक्ष शिव अधिकारी, पर्यटन व्यवसायीलगायत करिब तीन सय जनाले र्‍याफ्टिङ गरेका थिए ।

    उक्त कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री शाहले महाकाली र्‍याफ्टिङलाई दिगो बनाउन लागिपर्ने उल्लेख गर्दै यसले सुदूरपश्चिमको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार तथा यस क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी मैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार लागिपर्ने बताए ।

    नाराका अध्यक्ष अधिकारीले र्‍याफ्टिङ सञ्चालन भएसँगै स्थानीयलाई तालिम दिई रोजगार सृजना गर्न सहयोग गर्ने बताए । 'महाकालीमा विगतमा जल यात्रा शुरू भए पनि चलेको थिएन । अब यहाँ व्यावसायिक रुपमा जलयात्रालाई निरन्तरता दिन्छौं', उनले भने ।

    अध्यक्ष अधिकारीले महाकालीमा सञ्चालित जलयात्राले पर्यटन विकासका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


    images
    images

    Logo