images
images

आज हरि बोधिनी एकादशी, नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो


  • 429
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    आज हरि बोधिनी एकादशी, नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

    काठमाडौं । आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।

    कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइन्छ । हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    आजको दिन काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेष नारायण र इचङ्गुनारायण लगायतका ठाउँमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरी भेगमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

    आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेला लाग्ने ठाउँका पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।


    images
    images

    Logo