काठमाडौं । शुभमन गिल एक दिवसीय क्रिकेट वरियताको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निर्धारण गरेको पछिल्लो क्रममा गिल ८२६ प्वाइन्ट सँगै शीर्ष स्थानमा कायम रहन सफल भएका हुन् ।
नयाँ क्रम अनुसार पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा छन् । उनी ८२४ प्वाइन्टसँगै सो स्थानमा कायम रहँदा विश्वकपको ‘प्लेयर अफ द टुरनामेन्ट’ बनेका भारतका विराट कोहली ७९१ अंकसहित तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानमा भने भारतीय टिमका कप्तान रोहित शर्मा ७६९ अंकसहित रहेका छन् ।
एक दिवसिय विश्वकप २०२३ मा भारतका विराट कोहलीले सर्वाधिक ७६५ रन लिएका थिए । उनले तीनवटा म्याचमा शतक र ६ वटामा अर्धशतकसमेत बनाएका थिए । उनले ९ छक्का र ६८ चौका प्रहार गरेका थिए ।
रोहित शर्मा ५९७ रनसहित विश्वकपमा दोस्रो धेरै रन बनाउन सफल भएका थिए । उनले एउटा म्याचमा शतक र तीनओटामा अर्धशतक बनाएका थिए । उनी ३१ छक्का प्रहार गरि टुरनामेन्टभरिमा नै सबैभन्दा धेरै छक्का हान्ने खेलाडी बनेका थिए ।
शुभमन गिलले चार म्याचमा अर्धशतकसहित ३५४ रन बनाएका थिए । उनले १२ छक्का र ४१ चौका हानेका थिए ।
पाकिस्तानका कप्तान बाबर आजमले ४ अर्धशतकसहित ३२० रन बनाएका थिए । आजमले ४ छक्का र ३२ चौक हानेका थिए ।
शिर्ष तीनमा रहेका गिल, बाबर र कोहलीमध्ये सबैभन्दा धेरै शतक, अर्धशतक र सर्वाधिक रनसमेत बनाउँदा पनि विराटको पोजिसन तेस्रो नै रहेको छ ।



