भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई माफी माग्न एक साताको अल्टिमेटम दिएको छ । पूर्व सांसद समेत रहेका बस्नेतले आफ्ना दिवंगत नेता सुरेन्द्र प्रताप शाह तथा उनका पुत्र रबिन्द्र प्रताप शाहमाथि आधारहिन आरोप लगाएको भन्दै सो आरोपको पुष्टि गर्न चुनौति दिएको हो ।
राप्रपा भक्तपुरले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्रप्रताप शाह र केन्द्रीय सहमहामन्त्री समेत रहेका उनकै छोरा रविन्द्रप्रताप शाहमाथि गम्भीर र कपोल्कल्पित आरोप लगाएको भन्दै एक सताभित्र त्यसको पुष्टि गर्न वा सो अभिव्यक्ति फिर्ता लिन चुुनौति दिएको हो । आइतवार भक्तपुरका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता बस्नेतले राप्रपाका नेता स्व. सुरेन्द्रप्रताप र उनका छोरा रविन्द्रप्रतापको संलग्नतामा चाँंगुनारायण नगरपालिका– ६ नगरकोटमा रहेको १ सय १३ रोपनी सार्वजनिक जग्गा बेचबिखन र अपचलन गरेको आरोप लगाएका थिए ।
सो भिडिओ बाहिर आएपछि त्यसैको प्रतिक्रियास्वरुप राप्रपा भक्तपुरले पत्रकार सम्मेलन गरी पुुष्टि गर्न चुनौति दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सहमहामन्त्री रविन्द्रप्रताप शाहले पार्टीका संस्थापक जिल्ला अध्यक्ष एवं तत्कालिन जिल्ला बिकास समितिका सभापति एवं जिल्लाकै सर्वमान्य नेता स्व. शाहबिरुद्ध बस्नेतले लगाएको लान्छनाले मर्माहत बनाएको बताए । उनले आफू र आफ्ना पिताप्रति पूर्वाग्रही भएर अभिव्यक्ति दिएको भन्दै आरोप पुष्टि गर्न नेता बस्नेतलाई चुनौती दिंए ।
भक्तपुरमै बसेर राजनीति गर्ने भए व्यक्तिगत गालीगलौज र चरित्रहत्याको अराजक बक्तब्यबाजी बन्द गर्न शाहले चेतावनी दिए । यदि त्यो पुष्टि गर्न नसके बस्नेतले पत्रकार सम्मेलन गरेर माफी माग्नुपर्ने शाहको भनाई थियो । नेता बस्नेतले एमालेबाहेकका सबै दलका नेताकार्यकर्तालाई होच्याउने र चरित्रहत्या गर्ने प्रवित्ति अराजनीतिक भएको शाहको आरोप थियो ।
पत्रकार सम्मेलनमा पूर्व केन्द्रिय सस्दय रामेश्वर थापाले स्वर्गीय भैसकेका व्यक्तिलाई आरोप लगाउँनु हठात मानसिक्ताको उपज भएको बताए । पत्रकार सम्मेलनमा पार्टीका नेता एवं पूर्व सञ्चारमन्त्री टंक ढकाल, पार्टी केन्द्रिय सदस्य एवं बागमती प्रदेश सांसद धनेश्वरी प्रजापति लगायतको उपस्थिति रहेको थियो ।



