images
images

अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्यो


  • 474
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्यो

    म्याग्दी । अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । उपल्लो मुुस्ताङमा सन् २०२३ को करिब ११ महिनाको अवधिमा ३ हजार जनाभन्दा बढी पर्यटक भित्रिएका अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ ।

    एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुुख पदमराज रेग्मीका अनुुसार २०२३ को जनवरीदेखि नोबेम्वर तेस्रो सातासम्म ३ हजार ३ सय ८८ पर्यटकले उपल्लो मुुस्ताङ भ्रमण गरेका छन् । 

    “यसअघिका वर्षमा वार्षिक १ हजार जनाको सङ्ख्यामा विदेशी पर्यटकले भ्रमण गर्ने उपल्लो मुुस्ताङमा यसपाली पर्यटक आगमन अकल्पनीय रुपमा बढेको छ”, उनले भने, “सडक यातायातको सहजता, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यक्रमले उपल्लो मुुस्ताङमा पर्यटक आगमन बढेको हो ।”

    यसवर्ष ३८ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले बताए । अक्टोबर महिनामा सबैभन्दा बढी ८ सय १० विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् ।  जनवरीमा ७ जना मात्रै विदेशी पर्यटकले भ्रमण गरेको उपल्लो मुस्ताङमा फेबु्रअरीमा २३, मार्चमा १ सय ६२, अप्रिलमा ४ सय २५, मेमा ७ सय १२, जुनमा १ सय ४९, जुलाईमा १ सय ८, अगस्टमा २ सय ७८, सेप्टेम्बरमा ४ सय ७ र नोभेम्बरमा १८ तारिखसम्म २ सय ७ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

    सन् २०२१ मा ६ सय ३ जना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । २०२२ मा ३ हजार २ सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका–२ को छोसेरस्थित नेचुङबाट माथि जान पाउँदैनन् । 

    मुस्ताङको कागबेनीदेखि मुस्ताङको उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले प्रवेश शुल्क वापत पाँच सय अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने हुन्छ । 

    यो शुल्क तिरेरपछि उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले १० दिनको प्रवेश अनुमति पाउँछन् । उपल्लो मुस्ताङ घुमेको १० दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई रोयल्टी बुझाउनुपर्ने हुन्छ । सन् २०२३ को जनवरीदेखि नोभेम्बर १८ सम्मको उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको तथ्याङ्कअनुसार २२ करोड ३६ लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गरेको थियो । 

    सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए । कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् । 


    images
    images

    Logo