काठमाडौं । पर्यटक सवारी सञ्चालकहरुको संस्था नेपाल टुरिष्ट भेहिकल एशोसिएसन (एनटीभीए) को २० औं वार्षिकोत्सव सम्पन्न भएको छ । राजधानीको लैनचौरस्थित एक पार्टी प्यालेसमा शुक्रबार एशोसिएसनको साधारणसभाको सम्पन्न गरिएको हो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती लगायत पर्यटन क्षेत्रका व्यवसायिक संस्थाका प्रतिनिधिहरु एवं नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
कार्यक्रममा संघमा नवनिर्वाचित अध्यक्ष वेदुराम बास्तोलाले आफ्नो नयाँ कार्यकाालमा सार्वजनिक सवारीमा लगाइँदै आएको २० वर्षे व्यवस्था हटाउने, बैंक तथा वित्तीय संस्थाबाट यातायात क्षेत्रको ऋणमा लगाइँदै आएको महँगो ब्याज कम गर्न तथा पर्यटन यातायात क्षेत्रमा आवद्ध भएका व्यवसायीहरुलाई संघमा समावेश गर्ने वातावरण बनाउन भूमिका खेल्ने बताए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन फर टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा), ठमेल पर्यटन विकास परिषद् लगायत पर्यटन क्षेत्रसम्बद्ध व्यवसायिक संघ संस्थाका प्रमुखहरुले मन्तव्य राखेका थिए । उनीहरुले पर्यटन क्षेत्रमाथि सरकारको व्यवहार उदार नभएको बताउँदै यसले यो क्षेत्रको विकासमा सहयोग नगर्ने बताए । महँगो ब्याज तथा कम लगानीका कारण पर्यटन क्षेत्रमा नयाँ व्यवसायी तथा दक्ष कामदारहरु भित्रिन बन्द भएको भन्दै उनीहरुले यसमा सरकारले नीतिगत रुपबाट हस्तक्षे गर्नुपर्ने विषय औल्याएका थिए ।
कार्यक्रममा पर्यटनमन्त्री किराँतीले आफू आएदेखि नै पर्यटन क्षेत्रको विकासका लागि लागिपरेको भन्दै काम गर्दा स्टन्टबाजीको आरोप खेप्नुपर्ने अवस्था रहेको सुनाए । उनले आफूले पर्यटन क्षेत्रसम्बद्ध व्यवसायीका समस्या सुनेको भन्दै कामबाट नै यसको उत्तर दिने बताए ।
साधारणसभा उद्घाटन समारोहअघि नै संघले बन्दसत्र अन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न गरिसकेको छ । यसअनुसार वेदुराम बास्तोला नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिउपाध्यक्षमा रमेश गौतम र विनोद तामाङ, महासचिवमा केदार कट्टेल, सचिवमा गुमानसिंह मोक्तान, कोषाध्यक्षमा रामकुमार बस्नेत छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरुमा नवराज अर्याल, टेक पुन मगर र नकुल तिम्सिना निर्वाचित भएका छन् ।



