काठमाडौं । शरद ऋतुका लागि हिमाल आरोहण अनुमति लिन सुरु भएको छ । पर्यटन विभागले आरोहण अनुमति दिन सुरु गरेसँगै मनास्लु र रक्षा उराई हिमाल आरोहणका लागि ६५ आरोहीले अनुमति लिएका हुन् ।
अनुमति लिनेमा सबैभन्दा धेरै रसियाका–१२ जना रहेका छन् । त्यस्तै, चीनका ८, क्यानडा र जापानका ६–६, स्वीजरल्याण्डका ५ र अमेरिकाका ४ जनाले शरदमा पर्वतारोहणका लागि अनुमति लिएका हुन् । २ जना नेपाली सहित अन्य १४ देशका पर्यटकले समेत पर्वतारोहणका लागि अनुमति लिएका छन् ।
शरद ऋतुका लागि मनास्लु र रक्षा उराई हिमाल आरोहणका लागि २० मुलुकका ८ जना महिला र ५७ जना पुरुष छन् । उनीहरुबाट ७३ लाख ६० हजार ८५० रुपैयाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।
