काठमाडौं । मंगलबारदेखि नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर बैंगलोर उडान गर्ने भएको छ । हाल भैरहवा–काठमाडौं–मलेसिया उडान भर्दै आएको निगमले भारतको बैंगलोरमा पनि उडान गर्ने भएको हो ।
निगमले भदौ १२ गते मंगलबारदेखि प्रत्येक मंगलबार हङकङ र दिल्लीका लागि भैरहवाबाट टिकट बुकिङ खोलेको थियो । सोही रुटलाई विस्तार गरि बैंगलोरका लागि पनि बुकिङ खुला गरिएको हो ।
नयाँ उडान तालिकाअनुसार हरेक मंगलबार बिहान ८ः १५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । सो जहाजमा आएका यात्रुहरु हङकङ जाने भए सोही दिनको ११ बजेको उडानमा हङकङ पठाइने छ भने दिल्ली जाने यात्रुलाई १ बजेर २५ मिनेटको उडानमा दिल्ली पठाइने एयरलाइन्सले जनाएको छ ।
यस्तै १ बजेर २५ मिनेटकै अर्को उडानमा बैंगलौरका लागि उडान गरिने एयरलाइनसका प्रवक्ता रमेश पौडेलले बताए । एयरलाइन्सले यात्रु चेकिङकै क्रममा गन्तव्यसम्मकै बोर्डिङ पास उपलब्ध गराउने र यात्रुहरुको लगेज सिधै गन्तव्य मुलुकमै पुग्ने पनि जनाएको छ ।
यात्रुहरुले नेपाल एयरलाइन्सको वेवसाइट वा ट्राभल एजेन्सीबाट टिकट काट्न सक्ने पनि एयरलाइन्सले जनाएको छ ।



