काठमाडौं । बागमती प्रदेशले कर्मचारीलाई पर्यटनका लागि सात दिनको काज बिदा दिने भएको छ । सोमबार राजपत्रमा ‘आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८०’ प्रदेश सरकारले सो व्यवस्था गरेको हो ।
काजमा जाने कर्मचारीले प्रदेश सरकार अन्तर्गतको कुनैपनि कार्यालयमा कम्तीमा ६ महिना काम गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
कर्मचारीले प्रदेशभित्रको जुनैपनि पर्यटकीय स्थल घुम्न ७ दिन बिदा पाउनेछन् । तर घुम्नका लागि आफ्नो माइती वा ससुराली भएको स्थानीय तहमा भने जान नपाइने जनाइएको छ ।
पर्यटक काजमा जान चाहने कर्मचारीले आफू कार्यरत कर्यालयमा पर्यटन काजको निवेदन दिइ भ्रमण आदेश स्वीकृति गर्ने पदाधिकारीबाट स्वीकृत गराउनुपर्र्ने व्यवस्था गरिएको छ । स्वीकृति दिने पदाधिकारीले दैनिक काममा प्रभाव नपर्ने गरि कार्यालयका २५ प्रतिशत कर्मचारीलाई मात्र बिदा दिन पाउनेछन् । कर्मचारीले वर्षमा एकपटक मात्र उक्त बिदा पाउनेबारे मापदण्डमा उल्लेख छ ।
भ्रमणबाट फर्केपछि भ्रमणको विस्तृत प्रतिवेदन आफू कार्यरत कार्यालयमा बुझाउनुपर्ने छ ।
भ्रमणमा जाने कर्मचारीले एक महिनाको तलब बराबरको भ्रमण खर्च पनि पाउनेछन् । परिवारका ४ जना सम्म सदस्यलाई पनि भ्रमणमा सँगै लैजान सकिने र प्रत्येकलाई २÷२ हजार रुपैयाँ खर्च दिनेबारे आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्डमा उल्लेख गरिएको छ ।



