काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलमा स्थानीयबासीले धर्ना दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाइ उडानमा कडाइ गर्न जारी गरेको नयाँ नियम फिर्ता लिनुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
हवाइ दुर्घटनाको जाखिमलाई कम गर्न भन्दै क्यानले साउन १२ गते, दुर्गम जिल्लाका २९ वटा विमानस्थलमा दिउँसो साँढे १२ बजेपछि व्यवसायिक/चार्टर उडान गर्न नपाइने नियम लागु गरेको थियो । सोही नियम फिर्ता लिनुपर्ने भन्दै स्थानीयवासीहरुले विमानस्थलमा धर्ना दिएका हुन् ।
कर्णाली प्रदेशका हिमाली र पहाडी जिल्लाहरुमा नियमित हवाइ सेवा सुचारु गरिदिन प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधवार केन्द्रीय सरकारलाई पत्र लेखेको थियो ।
कर्णालीका अधिकांश हिमाली र पहाडी जिल्लाहरु सडक सञ्जाल सँग नजोडिएको र हवाइ उडानसमेत बन्द हुँदा जनजीवन अझै कष्टकर बनेको भन्दै स्थानीयले धर्ना दिएका हुन् ।



