काठमाडौं । प्रहरीले ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन् ।
प्रहरीका अनुसार सुरुमा बिहीबार राजधानीको थानकोटबाट पर्यटक गाडीमा पठाइएको नक्कली ३६ लाख रुपैयाँ बरामद भएको थियो । त्यसपछि खोजतलासका क्रममा थप रकम र कारोबारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कारोबारीहरुले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।



