काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद अवरुद्ध भएको समयको भत्ता नलिने घोषणा गरेको छ । शुक्रबार सभामुखलाई घोषणापत्र बुझाउँदै रास्वपाका सभापति रवि लामिछाने सहित पार्टीका सबै सदस्यहरुले उक्त घोषणा गरेका हुन् ।
रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन पनि आग्रह गरेका छन्। उनले संसद अवरोध भएर नचलेका बेला कुनै पनि सेवासुविधा नलिने पनि सभामुखलाई जानकारी गराए । उनले त्यसरी रकम हालसम्म पाएको भए त्यसको मिलान गरिदिन पनि आग्रह गरेका छन् ।
‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत् प्रतिबद्धता जाहेर गर्छ। साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ,’ रास्वपाले बुझाएको पत्रमा भनिएको छ ।
संसद अवरुद्ध भइरहँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको पनि उसले पत्रमार्फत् बताएको छ । जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिन उसले सभामुखलाई आग्रह पनि गरेको छ ।

गत साउन १० गतेदेखि संसद लगातार अवरूद्ध हुँदै आएको छ।



