काठमाडौं । एमालेले फेरि पनि प्रतिनिधिसभा वैठक अवरुद्ध गरेको छ । सुन काण्डका दोषी पत्ता लगाउन उच्चस्तरीय समिति बनाउनुपर्ने माग एमालेले निरन्तर केही दिनदेखि संसद अवरुद्ध गरेको हो ।
वैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेका थिए । सभामुख देवराज घिमिरेले आफ्नो भनाइ राख्न एमालेकी सांसद ज्वाला कुमारी शाहलाई समय दिएका थिए । उनलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु उठेर विरोध गरेका थिए । सत्तापक्षले उठेर विरोध गर्दैगर्दा उनले नक्कली प्रमाणपत्रको बखेडा झिकेर कांग्रेसका सांसद डा सुनिल शर्मालाई पक्राउ गरिएको आरोप लगाइन् । विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन माग गरेको आधारमा शर्मालाई पक्राउ गरिएको सांसद साहले दावी गरिन् । उनले उच्चस्तरीय छानबिन समितिको माग समेत राखेकी थिइन् ।
सत्तापक्षले विरोध गर्न बन्द नगरेपछि सभामुखले सांसद ज्वाला कुमारी शाहलाई बस्न निर्देशन दिएका थिए । सोही कारण एमालेका सांसहरु उठेर नाराबाजी गर्दै रोष्टम घेर्न पुगेका थिए । सभामुखले एमाले सांसदहरुलाई नियमित कार्यसूचीमा प्रवेश गर्न मद्दत पुर्याइदिन अनुरोध गरेका थिए ।
नाराबाजी नरोकिएपछि सभामुख घिमिरेले साउन २९ गते सोमबार सम्मका लागि वैठक स्थगित गरेका छन् ।



