काठमाडौं । भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । जसले गर्दा भक्तपुर नगरमा पर्यटकहरुको चहलपहल दिन प्रतिदिन बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७९।८० मा १ लाख ६७ हजार ६ सय ५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन् । त्यसमध्ये ८६ हजार ३ सय ३४ जना (गैरसार्क)र ८१ हजार ३ सय १८ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् । सोही आर्थिक वर्षमा पर्यटन शुल्कबाट १८ करोड ४० लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ ।
जसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्ने हो भने एक वर्षको अवधिमा जम्मा ५३ हजार ५६० जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए ।
जसमा आर्थिक बर्ष २०७८/७९ मा गैर सार्क २२ हजार ८७ जना र सार्क राष्ट्र र चीनका ३१ हजार ४७३ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ । आर्थिक बर्ष २०७८/७९ मा ४ करोड ८९ लाख भन्दा बढी पर्यटन शुल्क उठेको थियो । जसमा गैरसार्क पर्यटकबाट ३ करोड २७ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट १ करोड ५७ लाख ३६ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क उठेको थियो ।
आर्थिक बर्ष २०७८/७९ को तुलनामा यस आर्थिक बर्ष २०७९/८० मा १ लाख १४ हजार ९२ जना पर्यटकहरुको संख्या वृद्धि भएको हो । जसअन्तर्गत गैरसार्कमा ६४ हजार २ सय ४७ जना र सार्क र चीनका ४९ हजार ८ सय ४५ जना पर्यटकहरु रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस आर्थिक बर्ष २०७९/८० मा १३ करोड ३१ लाख ३६ हजार ४ सय रुपैयाँले पर्यटन शुल्कबाट नपाको आय वृद्धि भएको हो ।
भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांक अनुसार २०७९/८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इड्डल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिंगापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकहरुले भक्तपुर भ्रमण गरेका छन् ।
भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मुलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरुबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरुसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ । शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गरिएको छ ।
भक्तपुर नगरपालिकाले गैरसार्क क्षेत्रका पर्यटकसँग १८०० रुपैयाँ तथा सार्क तथा चिनियाँ पर्यटकसँग प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क संकलन गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर प्रवेश गर्ने पर्यटकहरुसग उठाउँदै आएको पर्यटन सेवा शुल्क नगरपालिकाको मुख्य आयस्रोत भएको बताउँदै भक्तपुर नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताए ।



