काठमाडौं । नेपाल विद्युत प्राधिरकणले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सोसम्बन्धी कार्यक्रमका लागि कोरियाको एक संस्था र काठमाडौँ विश्वविद्यालयसँग आवश्यक काम सुरु भएको छ ।
ती संस्थाको प्राविधिक सहयोगमा नेपालमा हरित हाइड्रोजन उत्पादन र परिप्रयोगका सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनको चरणमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्राधिकरणले नमूना परियोजनाका रूपमा एक हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने तयारी थालेको छ । त्यस्तै हाल पाँच हजार सात सय ४२ सर्किट किमी प्रसारण लाइन र आठ हजार आठ सय ६७ एमभीए क्षमताका सबस्टेशन सञ्चालनमा रहेका छन् ।
नेपालले पहिलोपटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल करिब चार सय ५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारत निर्यातका लागि करिब छ सय मेगावाट थप आयोजना भारतको विद्युत् मन्त्रालयमा सहमतिको प्रक्रियामा रहेका छन् ।
विहार र नेपालका विभिन्न स्थानमा जोडिएका एक सय ३२ केभी प्रसारण लाइनबाट विहारको ग्रीड हुँदै भारतको केन्द्रीय ग्रीड प्रणालीबाट करिब तीन सय मेगावाट विद्युत् बिक्री गर्न पिटिसी इन्डिया, विहार स्टेट पावर कर्पोरेशन र प्राधिकरणबीच त्रिपक्षीय सहमति भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
भारतको हरियाणा राज्यलाई विद्युत् आपूर्ति गर्ने गरी भारतीय विद्युत् व्यापार कम्पनी एनभिभीएनसँग पाँच वर्षका लागि दुई सय मेगावाटको मध्यकालीन विद्युत् बिक्री सम्झौता सम्पन्न भएको छ । सो सहमतिका लागि भारतीय ऊर्जा मन्त्रालयमा पठाइएको उनले जानकारी दिए।
त्यस्तै बङ्गलादेशमा विद्युत् निर्यातका लागि भारतको एनभिभीएन, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र प्राधिकरणबीच त्रिपक्षीय सम्झौता अन्तिम चरणमा रहेको उनको भनाइ छ ।



