काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै बुकिङ काउन्टरहरुलाई दर्ता पक्रियामा आउन निर्देशन दिएको छ । बिहीबार सूचना प्रकाशित गर्दै महानगरले ७ दिनको समय दिएर दर्ता हुन निर्देशन दिएको हो ।
जथाभावी खुलेको टिकट काउन्टरलाई व्यवस्थापन गरि ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउन भन्दै महानगरले काठमाडौं बाहिर चल्ने रुटका गाडीको टिकट काउन्टर रहेको वडा कार्यालयमा दर्ता गर्न भनेको हो ।
महानगरले दर्ता नभएका त्यस्ता काउन्टरलाई भदौ १ गतेदेखि आफैं हटाउने चेतावनीसमेत दिएको छ ।
त्यस्तै, महानगरले बुकिङ काउन्टर सञ्चालनसम्बन्धी मापदण्डसमेत तोकेको छ । त्यस्तो काउन्टरको मुख्य कार्यालय गोंगबु बसपार्कमै हुनुपर्ने चोकको १०० मिटरभन्दा नजिक काउन्टर राख्न नपाइने, बाफलदेखि महाराजगञ्जसम्मको क्षेत्रमा काउन्टर खोल्न नपाउने लगायत छन् ।
महानगरले बुकिङ काउन्टरको क्षेत्रफल, सुविधा तथा कर्मचारीले पालना गर्नुपर्ने नियमको बारेमासमेत सूचित गराएको छ ।



