काठमाडौं । नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर सरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यालय भक्तपुरको सानोठिमीमा सरेको जनाएको हो । हाल उक्त विश्वविद्यालयको कार्यालय ललितपुरको जावलाखेलमा रहेको छ ।
नेपाल खुला विश्वविद्यालय ऐनले उक्त विश्वविद्यालयको केन्द्रीय कार्यालय नेपालको जुनसुकै स्थानमा रहन सक्ने व्यवस्था गरेको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरि केन्द्रीय कार्यालय रहने स्थान तोक्न सक्ने ऐनको व्यवस्था छ । सोही व्यवस्थालाई टेक्दै मन्त्रालयले विश्वविद्यालय स्थानान्तरण गरेको हो ।
दूरशिक्षा प्रणालीबाट शैक्षिक कार्यक्रम सञ्चालन हुने गरि उक्त विश्वविद्यालय २०७३ सालमा स्थापना भएको थियो । हाल विश्वविद्यालयले स्वास्थ्य विज्ञान तथा प्रविधि, समाजशास्त्र र शिक्षा एवं व्यवस्थापन तथा कानुन विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



