काठमाडौं । डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ७ सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने ७ जनाको मृत्यु भइसकेको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण बढिरहेको बताए । उनले यसैगरी डेङ्गु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।
सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्छ ।
यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा ८ हजार १ सय ९ जना, बागमती प्रदेशमा १ हजार ४ सय ५३ जना, गण्डकी प्रदेशमा ४ सय ७१ सुदूरपश्चिम प्रदेशमा ३ सय ९३ जना, लुम्बिनी प्रदेशमा २ सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ । नयाँ देखिएका बिरामीमध्ये ९ हजार ६ सय १२ (८९ दशमलव ६ प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् ।
सुनसरीपछि मोरङ १ हजार ३ सय ४४, धादिङ १ हजार २७ जना, कास्की २ सय २५ जना, धनकुटा २ सय २३, दार्चुला १ सय ९२ जना, झापा १ सय ८२, काठमाडौँ १ सय ५१ सङ्खुवासभा १ सय ४८ जना र तनहुँ ७९ जनामा डेङ्गुका बिरामी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिने आग्रह गरेको छ ।



