images
images

उपराष्ट्रपति सहित ४ उच्च पदस्थको विदेश भ्रमण स्वीकृत


  • 280
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    उपराष्ट्रपति सहित ४ उच्च पदस्थको विदेश भ्रमण स्वीकृत

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव सहित ४ उच्च पदस्थको विदेश भ्रमण स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को वैठकले उपराष्ट्रपति यादव सहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको विदेश भ्रमण स्वीकृत गरेको हो । 

    उपराष्ट्रपति यादव यही साउन ३१ गतदेखि सुरु हुने सातौं चीन– दक्षिण एशिया एक्स्पो र २७ औं चीन आयात र निर्यात मेलाका लागि चीन जाँदैछन् । उक्त एक्स्पो भदौ ३ गतेसम्म चल्नेछ । 

    त्यस्तै, उद्योग मन्त्री रिजाल थाइल्याण्ड भ्रमणमा जाँदैछन् । थाइल्याण्डको बैंककमा भदौ ५ र ६ गते आयोजना हुने ‘हाइ लेभल यूरो एशिया रिजनल रिभ्यू अफ द भिएना प्रोग्राम अफ एक्सन अफ द एलएलडीसी’ मा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् । 

    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा सामाजिक, मानवीय, सार्वजनिक निजी साझेदारी र हरित कार्यक्रममा वित्तीय सहयोग तथा लगानी सहकार्य सम्बन्धी कार्यक्रममा भाग लिन स्वीजरल्याण्ड जान लागेका हुन् । उक्त कार्यक्रम आगामी भदौ १५ र १६ गते आयोजना हुनेछ । 

    उता, निर्वाचन आयोगका प्रमुख आयुक्त थपलिया स्वीडेनमा हुने ‘निर्वाचनमा आदिवासी जनजातिको सहभागिता’  विषयक कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गर्दै छन् । उक्त कार्यक्रम भदौ १९ र २० मा आयोजना हुनेछ । 

    नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरकारी प्रतिनिधि मण्डलको नेतृत्व गरेर हुने प्रत्येक विदेश भ्रमणको स्वीकृति मन्त्रिपरिषद्ले गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार सरकारले उनीहरुको भ्रमण स्वीकृत गरेको हो । 


    images
    images

    Logo