काठमाडौं । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व असुल गरेको छ । काठमाडौं महानगरपालिले गतआर्थिक बर्षको लागि १० अर्ब ४१ करोड रुपैयाँ लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आर्थिक बर्षमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।
आथिृक बर्ष २०७८/७९ मा काठमाडौं महानगरपालिकाले १० अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी १ अर्ब ३६ करोड रुपैयाँ बढी असुल भएको काठमाडौं महागरपालिका राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए। उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।
जसमा सबैभन्दा बढी बहाल करमा २ अर्ब ५६ करोड रुपैयाँ असुल भएको छ, त्यस्तै सम्पत्ती करमा १ अर्ब ८ करोड रुपैयाँ, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए । त्यस्तै नक्शापास दस्तुरबाट १० करोड ११ लाख रुपैयाँ भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो काठमाडौं महागरपालिकाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो ।
आर्थिक बर्ष २०७८/७९ मा जम्मा ४ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको काठमाडौं महानगरापलिकाले आर्थिक बर्षव २०७९/८० मा ५ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठाउन सफल छ ।
काठमाडौं महानगरापलिकाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५ः१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।
गत आर्थिक बर्षमा बाँडफाँटबाट काठमाडौं महानगरपालिकाले १ अर्ब ८५ करोड रुपैयाँ पाएको छ राजश्व विभाग प्रमुख काफ्लेले भने,“अघिल्लो वर्षको तुलनामा १ अर्ब ६८ करोड ९४ लाख रुपैयाँले कमी हो । अघिल्लो वर्ष करिब ३ अर्ब ५५ करोड रुपैयाँ प्राप्त गरेको थियो ।”



