काठमाडौं । उपसभामुख इन्दिरा राणाले आफूलाई बोल्न नदिएको गुनासो गरेकी छिन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन् ।
उनले भनिन्, ‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरू बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ ।’
उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन् । उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् । उनले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन् ।
‘नियममा कहाँ लेखेको छ, उप चुप भनेर । संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतुवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ । सुशासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो की कुशासन हो ? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो की, बालक हो की म,’ उनले भनिन्, ‘कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेशन खोलिन्छ । अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरू पलायन हुँदैनन् ।’
उपसभामुख रानाले देशमा सुशासन नभइ कुशासन रहेको दाबी गरिन् ।



